फिल्म ‘छ माया छपक्कै’ दसैँपछी मात्र रिलिज हुने ?

यो वर्षको सुरुवातदेखि नै नेपाली चलचित्र बलिउडका ठुला ब्यानरका चलचित्रको मारमा पर्नु पर्‍यो । वर्ष भरीको चलचित्रको प्रदर्शन क्यालेन्डरनै तहसनहस भइरहेको छ । यसै बीच नेपालका ठुला ब्यानरका चलचित्र पनि प्रदर्शनमा निर्धक्क आउन सकेका छैनन् । जसको कारण सफल चलचित्र सिरिज ‘छक्का पन्जा’ सिरिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ रिलिज मिति तोक्न नसक्दा अलमलमा परिरहेको छ । चलचित्रको टिमले यसअघि भदौ २७ मा चलचित्र रिलिज गर्ने बताए पनि अब उक्त मितिमा चलचित्र नआउने पक्का भएको छ । चलचित्रको फस्टलुक रिलिज भइसक्दा पनि रिलिज मिति तय नहुँदा दर्शक अन्योलमा परेका छन् ।

बलिउड बिग बजेट चलचित्र ‘वार’ का कारण पनि नेपाली चलचित्रको रिलिज केही प्रभावित भएको हो । यसबारेमा बोल्दै दीपकराज गिरी आफ्नो टिम बलिउड चलचित्रसँग डराएको नभइ नेपाली हलवाल र वितरकसँग जुध्ने साहस नभएको बताउँछन् । नेपाली चलचित्र माथि उनीहरूले गर्ने व्यवहारसँग कोही पनि जुध्न नसक्ने उनको तर्क छ । यस्तै पिडा भोलि शुक्रवारबाट रिलिज हुने चलचित्र ‘मारुनी’ले भोग्नु परेको छ । बहुप्रतीक्षित बलिउड चलचित्र ‘साहो’को कारण ‘मारुनी’ एक दुई सोजमा खुम्चिनु पर्ने भएको छ । ‘छ माया छप्पक्कै’को रिलिज मिति बारे यकिन नभए पनि दीपकका अनुसार चलचित्र दसैँको टिकापछि रिलिज हुनेछ । उनले प्रदर्शन मिति खुलाउन नचाहेपनि असोजको २४ गतेबाट चलचित्र रिलिज हुने हल्ला बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *